भीएसद्वारा शैक्षिक सामग्री हस्तान्तरण
भीएस निकेतन उच्च मा. वि. मीनभवनले आफ्नो स्थापनाको रजत वर्ष्रवेशको अवसरमा मुगुका विपन्न परिवारका बालबालिकाका लागि वितरण गर्न भनी जिल्ला स्काउट कार्यालय काठमाडौँलाई शैक्षिक सामग्री हस्तान्तरण गर्यो । गत फाल्गुण १७ गते विद्यालय प्राङ्गण शान्तिनगरमा आयोजित विशेष समारोहमा तत्कालीन मन्त्री राधाकृष्ण मैनालीले सो सामान जिल्ला सामुदायिक विकास आयुक्त शिवराम अर्याललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा भीएस निकेतन स्काउट ट्रूपका अध्यक्ष एवं उच्च मा. वि.का प्राचार्य डा. बाबुराम पोखरेल तथा ट्रूपका सदस्यसचिव सुश्री ऋचा शर्मा उपस्थित हुनुहुन्थ्यो ।
जिल्ला स्काउट कार्यालय काठमाडौँको आयोजनामा मुगुका बालबालिकाको सहयोगका लागि भएको शैक्षिक सामग्री सङ्कलनमा भीएस निकेतन उ.मा.वि. ले कक्षा ६ देखि १० सम्मका केही सिट किताब, कापी, छालाका जुत्ता लगायतका सामानहरू हस्तान्तरण गरेको छ ।
यसै गरी भीएस निकेतन स्काउट ट्रूपका स्काउटहरूलाई गत मंसिर २५ गते एक कार्यक्रममा दीक्षा प्रदान गरियो । सहप्रमुख आयुक्त रविन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिल्ला आयुक्त रविलोचन लामिछाने, जिल्ला समन्वय आयुक्त मणि मल्ल, जिल्ला संगठन आयुक्त योगराज शिलाकार उपस्थित हुनुहुन्थ्यो । ट्रूप अध्यक्ष डा. पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सदस्यता तहदेखि एभरेस्ट तहसम्मका स्काउटहरूलाई जिल्ला सामुदायिक विकास आयुक्त शिवराम अर्याल तथा ट्रूपका सदस्यसचिव सुश्री ऋचा शर्माले दीक्षा प्रदान गर्नुभयो । सो कार्यक्रममा एभरेस्ट तहमा ९ जना, कन्चनजङ्घा तहमा १४ जना तथा अन्य तहमा २७ गरी कुल ५० स्काउटहरू दीक्षित भएका छन् ।
